भारतीय गाडीसहित २० किलो गाँजा बरामद

सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरीले मंगलबार चेकजाँचका क्रममा सडक छेउमा बेवारिसे अवस्थामा पार्क गरिएको उक्त कार भेटिएको थियो।

सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका-६ बाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। भारतीय नम्बर प्लेट डब्लुबी ०२ एएल ०१७५ नम्बरको सेतो कारको डिकीभित्र लुकाइ–छिपाइ राखिएको करिब २० किलोग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरीले मंगलबार चेकजाँचका क्रममा सडक छेउमा बेवारिसे अवस्थामा पार्क गरिएको उक्त कार भेटिएको थियो। शंका लागेपछि प्रहरीले कडा रूपमा कारको तलासी लिँदा कालो प्लास्टिकमा पोका पारेर  डिकीभित्र राखिएको गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार उक्त सवारीसाधन लामो समयदेखि छाडिएको देखिएपछि अनुसन्धानलाई थप केन्द्रित गरिएको थियो। कार भारतीय नम्बरको भएकाले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसारको सम्भावना उच्च भएको प्रहरीको आकलन छ।

बरामद गरिएको गाँजासहित कार नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव कुमार थेबेले बताए। उनले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि प्रहरीले विस्तृत खोजी सञ्चालन गरिरहेको बताएका छन्। उनले सीमावर्ती क्षेत्रमा लागूपदार्थ अपराध न्यूनीकरणका लागि प्रहरी सक्रिय रहेको उल्लेख गर्दै अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *