कैलालीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ
२६ मंसिर, काठमाडौं । कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
प्रहरीले टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ ।
यस्तै, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ ।
सुपप्र ०१–००१क २०६० नंम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नंम्बरको मोटरसाइकल ठोक्किएको थियो । महराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।
हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।
गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।
चालक टीकापुर–१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।