‘पार्टी जोगाउनुस्’ भन्दै देउवालाई २५ केन्द्रीय सदस्यको आग्रह

केन्द्रीय सदस्य पुष्पा भुसालले विशेष महाधिवेशन एक पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिम बढेको बताइन्।

काठमाडौं-  नेपाली कांग्रेसभित्र निर्वाचनअगावै महाधिवेशन गर्ने विषयलाई लिएर चर्किँदै गएको विवाद पार्टी विभाजनतर्फ जान सक्ने संकेत देखिएपछि संस्थापन पक्षीय २५ केन्द्रीय सदस्य सक्रिय भएका छन्। उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनको प्रक्रिया तत्काल रोक्न र पार्टीलाई विभाजनबाट जोगाउन आग्रह गरेका छन्।

शुक्रबार बिहान निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएका २५ केन्द्रीय सदस्य सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए। सो भेटमा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको स्वीकार गरेका छन्।

उक्त समूहकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार पार्टीभित्र चुलिएको पछिल्लो विवाद समाधान र निकासको उपायबारे सभापतिसँग छलफल भएको हो। उनले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिने जानकारी दिइन्।

केन्द्रीय सदस्य पुष्पा भुसालले विशेष महाधिवेशन एक पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिम बढेको बताइन्। ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्ने खतरा छ,’ उनले भनिन्, ‘त्यसैले पार्टीको अभिभावकको हैसियतले पार्टी जोगाउनुस् भनेर सभापतिज्यूलाई आग्रह गरेका हौं।’

६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित महाधिवेशन स्थगित गर्दै २७ पुसदेखि विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका थिए। विशेष महाधिवेशनका लागि भृकुटीमण्डपसमेत बुक भइसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *