भन्सार छलेर कारको ब्याक लाइटभित्र स्पोर्टस् सुज र बेल्ट
६० जोर फुटबल सुज, ४० थान छालाको बेल्ट र लाइटर बरामद गरिएको छ
२९ मंसिर, काठमाडौं । भद्रपुर नाकाबाट भन्सार छलेर स्पोर्टस् सुज र छालाको बेल्ट भित्राउने एउटा भारतीय नम्बर प्लेट भएको सुजुकी कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा ६० जोर फुटबल सुज, ४० थान छालाको बेल्ट र लाइटर बरामद गरिएको छ।
शुक्रबार बिहान ८ बजेको समयमा डब्लुबी ५२ जी ९४१८ नम्बरको भारतीय सुजुकी कार मेची पुलबाट नेपाल प्रवेश गरेका थिए। सो कारलाई नाकामै रोकेर चेकजाँच गरिएको थियो। तर, कारभित्र केही नदेखेपछि सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न अनुमति दिएका थिए।
सशस्त्रले भन्सार कार्यालय अगाडि सुजुकी कारलाई रोक्ने सङ्केत गर्दा नरोकी भाग्ने क्रममा उक्त कारलाई पन्छ्याउँदै भद्रपुर–८ स्थित हडिया चिया बगानमा कार छाडेर चालक फरार भएका थिए।
त्यसपछि सशस्त्र प्रहरीले कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कारको ब्याक लाइटभित्र छुट्टै बनाइएको बक्सबाट स्पोर्टस् सुज, बेल्ट र लाइटर बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका डीएसपी मदनकुमार रसाइलीले जानकारी दिए। सामान र कार कसको भनी खुलेको छैन।
डीएसपी रसाइलीले चालक फरार भएकोले त्यस बारेमा अनुसन्धान भइरहेको बताए।
डीएसपी रसाइलीले नियन्त्रणमा लिएको कारसहित सामानलाई ११ लाख ७१ हजार १ सय रुपैयाँ मूल्याङ्कन तोकेर आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको बताए।