मीनबहादुर गुरूङको एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चद्धारा खारेज

रिट खारेज भएसँगै एमालेलाई पार्टी कार्यालयको भवन निर्माणको कार्य अघि बढाउन बाटो खुलेको छ


१ पुस, काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो ।

न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो।तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

रिट खारेज भएसँगै एमालेलाई पार्टी कार्यालयको भवन निर्माणको कार्य अघि बढाउन बाटो खुलेको छ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका( २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।

१२ कार्तिकमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत भवन निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । त्यही मुद्दा पूर्ण सुनुवाईपछि खारेज भएको हो ।

सर्वोच्चको यो फैसलापछि एमालेलाई कानूनी रुपमा जग्गा ग्रहण गर्न र त्यहाँ भवन बनाउन कुनै अड्चन हुने छैन ।

गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *