रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले छ


२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ। सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।

प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।

कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान गरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। उनीविरुद्ध प्रहरीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको हो। अब सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ता गर्ने कि नगर्ने भन्नेबारे निर्क्योल गर्नेछ।

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले छ। प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी,चितवनको सहारा,वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको छ।

त्यस्तै इमेज,समानता,सुमेरू र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ। ती सहकारीका सञ्चालक र निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन विपरीतको कार्य गरेकाले कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन समितिले सरकारलाई सिफारिस गरेको छ।

अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने स्रोतले बतायो । त्यसैका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *