साउदीबाट फर्केका एक नेपाली युवामा मंकीपक्स पुष्टि
। नेपालीलाई मंकीपक्स (एमपक्स) संक्रमण भएको यो पहिलो हो
पुष ७, काठमाडौं । साउदी अरबबाट स्वदेश फर्किएका एक नेपाली युवामा मंकीपक्स संक्रमण भएको शुक्रबार पुष्टि भएको छ। नेपालीलाई मंकीपक्स (एमपक्स) संक्रमण भएको यो पहिलो हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.प्रकाश बुढाथोकीका अनुसार तनहुँका बिहीबार स्वदेश फर्किएका ३६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो। ती युवा बिसञ्चो महसुस भएपछि विमानस्थलबाट सिधैं निजी अस्पताल पुगेका थिए। उनलाई सामान्य ज्वरो देखिएको छ।
डां बुढाथोकीले विदेशबाट आएका युवामा संक्रमण पुष्टि भएकाले नेपालभित्रै यो रोगको संक्रमण भएको छ वा छैन भन्ने पुष्टि नभएको बताए।
संक्रमित युवाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ।
डा. बुढाथोकीले मंकीपक्सको संक्रमणको घटना पुष्टि भए पछि त्रिभुवन विमानस्थल र अन्य हेल्थ डेस्कमा सतर्कता अपनाउन निर्देशन दिइएको बताए।