लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जना अदालतमा उपस्थित
कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ
२४ पुस, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइराला अदालतमा उपस्थित भएकी छन्।
सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको जानकारी थिए । अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए ।
मोरङको धनपालथान–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम मुछिएपछि अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सहकारी ठगी प्रकरणमा मुछिएपछि उनी फरार थिइन्।
यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ । कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।
सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ मा सहकारीबाट राजीनामा दिएकी थिइन्। सहकारी ठगीमा श्रीमतीको नाम मुछिएपछि सभापति पोखरेलको राजीनामाको समेत विषय उठेको थियो।