विश्वकप खेल्ने महिला यू-१९ टिमको बिदाई

नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।


२६ पुस, काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी यू–१९ महिला टी२० विश्वकप खेल्न जान लागेका नेपाली टोलीको बिदाई गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।

टोलीलाई बिदाई तथा शुभकामना दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्मा उपस्थित थिए ।

क्यानका सचिव पारस खड्काले बिदाई कार्यक्रममा बोल्दै टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे ।

मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे । उनले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरुसँग पनि सहकार्य गर्न सकिने बताए ।

यू–१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘एसिया कपमा राम्रो खेलेर पाकिस्तानलाई हरायौं, अब विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने छौं, राम्रो खेल्यो भने जुन कुरा पनि सम्भव छ’, पूजाले भनिन् ।

नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *