यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय (निर्णयसहित)
परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय
२६ पुस, काठमाडौं । गत पुस २३ गते (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक गरेका हुन् ।
सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय सो दिनको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी गराइएको छ ।
त्यस्तै, बैठकले पुस २६ र २७ (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इलालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय पनि गरेको छ ।
परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको छ ।