रवि लामिछाने अदालत उपस्थित, थुनछेक बहस हुँदै
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउने
२९ पुस, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज थुनछेक बहस सुरू हुने भएको छ। प्रहरीले थुनछेक बहसका लागि लामिछानेलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइसकेको छ।
गत बिहीबार पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । तर, आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्। उनीविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ यसअघि उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेका छन्।