नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम बढ्यो
२९ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा अडिएको हो। नेप्से घटे पनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ।
आज सोमबार ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ । ६४ हजार २ सय ७८ कारोबार मार्फत १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता धितोपत्र किनबेच हुँदा उक्त रकम बराबर कारोबार भएको हो ।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बराही हाइड्रोपावरको सेयर १० प्रतिशतले बढयो। सुपर मादी हाइड्रोपावरको सेयर ८.९७ प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैंकको ८.८१,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.४१ र नेपाल एसबीआई बैंकको ७.३० प्रतिशतले बढ्यो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी रिभर फल्स पावरको सेयर ८.३६ प्रतिशतले बढ्दा कुमारी धनवृद्धि योजनाको ४.६३ ले बढ्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
न्यादी हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन पावरले १५ करोड,सिन्धु विकास बैंकले १३ करोड र सानिमा मिडल तमोर हाइड्रोपावरले १२ करोडको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ६३ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,होटल्स एण्ड टुरिजम र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढिले घटे।