कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री ओली
हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति काम हुुन्छ
२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको बताएका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन्।
उनले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको पनि प्रष्ट पारे । ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै सजग रहन आग्रह गरे ।
‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?,’ प्रधानमन्त्री ओलीले भने ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झूठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उनको जोड थियो ।