गाजामा युद्धविराम र बन्धक रिहाइका लागि वार्ता अन्तिम चरणमा
सम्झौताको लागि अन्तिम वार्ता आज जनवरी १४ मा हुने जनाइएको छ
१ माघ, काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि भइरहेको वार्ताले अन्तिम रूप लिएको छ । अमेरिकी मध्यस्थतामा भइरहेको युद्धविराम वार्ता अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि अन्तिम रूप लिएको बताइएको छ ।
सम्झौताको पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिनेछ। हमाससँग ९४ जना इजरायली बन्धकहरू छन्। जसमध्ये लगभग ३४ जनाको मृत्यु भइसकेको छ। ७ अक्टोबर २०२३ मा हमासले २५१ इजरायली नागरिकलाई बन्धक बनाएको थियो। बाँकी बन्धकहरूलाई पहिले नै रिहा गरिएको छ।
सम्झौताको लागि अन्तिम वार्ता आज जनवरी १४ मा हुने जनाइएको छ। यो सम्झौतामा हस्ताक्षर भएपछि तुरुन्तै कार्यान्वयन हुने उल्लेख छ। युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ। बाँकी बन्धकहरूलाई ३३ जना बन्धकहरूको रिहाइको १५ दिन पछि रिहा गरिनेछ। यस अवधिमा युद्धविराम स्थायी रूपमा लागू गर्ने बारेमा पनि छलफल हुनेछ।