रवि लामिछानेको बयान अन्तिम चरणमा ःपोखरा पठाउने तयारी
२९ कात्तिक,काठमाडौं । पोखराबाट मंगलबार भैरहवा ल्याइएका बुटवलको सुप्रिम सहकारी बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरु गरिएको हो ।
हिजो र आज गरेर ७० बढी लिखित प्रश्न सोधेको र लामिछानेले सरल र सहज रुपमा इन्कारी बयान दिएको जिल्ला प्रहरीले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले रूपन्देहीको जिल्ला अदालतमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् । सहकारीका पूर्वसचिव दिपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।
अबको केही बेरमा बयान सकिने र आज ४ः ४० को फ्लाइट मा पोखरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।