अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टा अगाडि नै टिकटक बन्द
प्रयोगकर्ताहरूका अनुसार टिकटक एप गुगलको अमेरिकी एप स्टोरबाट पनि हटाइएको छ

६ माघ, काठमाडौं । अमेरिकामा टिकटक चल्न छाडेको छ। टिकटक एपमा प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै टिकटक चल्न छाडेको हो।
अमेरिकी प्रयोगकर्ताहरूको एपमा देखा परेको सन्देशमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएको उल्लेख गरिएको छ। जसमा ‘तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न। हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ’ लेखिएको छ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका थिए। डोनाल्ड ट्रम्पले उनले पदभार ग्रहण गरेपछि सोमबार यस विषयमा घोषणा गरिने जनाएका थिए।
‘९० दिनको छुट त्यस्तो हुने सम्भावना धेरै हुन्छ, किनकि यो उचित छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्नेछ। यो धेरै ठूलो अवस्था हो,’ ट्रम्पले भने।
टिकटकमाथि अमेरिकी सर्वोच्च अदालतले शुक्रबार प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएको थियो।
यसको मूल कम्पनी बाइटडान्सले टिकटकलाई बेचेमा मात्र यो प्रतिबन्धबाट बचाउन सकिने फैसला गरिएको छ।
त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको थियो।
प्रयोगकर्ताहरूका अनुसार टिकटक एप गुगलको अमेरिकी एप स्टोरबाट पनि हटाइएको छ।