माथिको पावर देखाएको भन्दै प्रहरीद्धारा निर्घात कुटिए युवक, छानबिन समिति गठन
प्रहरीलद्धारा कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ
७ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् ।
चेकिङमा खटिएका प्रहरीले ‘माथिको पावर देखाएको’ भन्दै युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।
प्रहरीलद्धारा कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
रातिको समयमा बाइपास सडकखण्डमा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।
ती युवक प्रहरीबाट जोगिन अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।