चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको

७ माघ, काठमाडौं । बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेल निलम्बित भएका छन् । सो भिडियो चितवनको भरतपुर महानगरपालिकाको रहेको छ । चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए।
‘माथिको पावर देखाएको’ भन्दै गस्तीमा खटिएका प्रहरीले ती युवकलाई मरणासान्न हुनेगरी बुटैबुटले कुटेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पदीय मर्यादा र आचारण विपरीतका क्रियाकलाप गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।