धुलिखेलमा फर्निचर उद्योगमा आगलागी : एकजनाको मृत्यु

सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन्

१२ माघ, काठमाडौं । धुलिखेलमा एक फर्निचर उद्योगमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। शुक्रबार राती ९ बजेको समयमा धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दहालद्वारा सञ्चालित श्याम सुन्दर फर्निचर सेन्टरमा विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी भएको प्रहरीले जनाएको छ।

आगोमा परेर शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको छ ।सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट शुरु भएको आगो फैलदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाका दुईवटा दमकल र स्थानीय बासिन्दाहरूको सक्रियतामा आगो निभाउने कार्य भएको प्रहरीले जनाएको छ। स्थानीयले बाल्टिन र अन्य साधनहरूको प्रयोग गरेर दमकल टोलीलाई सहयोग गरिरहेका थिए। आगो अहिले बिहानी पख मात्रै नियन्त्रणमा आएको बताइएको छ ।

घाइतेको उपचार र मृतको पोष्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *