आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ


१६ माघ, काठमाडौं । देश र जनताको हकअधिकारका लागि आफ्नो जीवन आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। विसं २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार शहीद सप्ताहको अन्तिम दिन बुधबार भएकाले सरकारको तर्फबाट आज शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी हुनेछन् ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न संघसंस्थाले मात्र कार्यक्रम गरी दिवस मनाउने गरेका थिए ।

तर यस वर्ष प्रधानमन्त्री ओली आफैं शहीदगेट पुग्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *