साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

१ चैत, काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको ९३ वर्षको उमेरमा बिहीबार राति १०ः१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले बताए ।
‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा,निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका क्षेत्री जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए।
१६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो ।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।