मोतीलाल दुगडका कम्पनीले तिरेनन् कर, राजस्व कार्यालयले निकाल्यो सार्वजनिक सूचना
उनले आफ्ना तीन वटा नभइ दुई वटा कम्पनीको मात्रै बक्यौता बाँकी रहेको बताए ।

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।
विराटनगरका उद्योगी दुगड पूर्वसांसद पनि हुन् ।
गत फागुन २० गते आन्तरिक राजस्व कार्यालय विराटनगरले कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।
दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको जानकारी दिए ।
अधिकारी नवराज भट्टराईका अनुसार अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन । बुझाउन बाँकी रहेको करको विवरण भने खुलाउन नमिल्ने उनले बताए ।
यता उद्योगी मोतीलाल दुगडले कर तिर्न केही ढिलो हुँदा कार्यालयले सूचना निकालेको बताए । उनले आफ्ना तीन वटा नभइ दुई वटा कम्पनीको मात्रै बक्यौता बाँकी रहेको बताए ।
‘ट्याक्सको पैसा हो, १–२ महिना मात्रै ढिलो भएको हो,’ उनले भने, ‘कहिले छिटो हुन्छ कहिले ढिलो हुन्छ, दुईवटा हो, एउटा मिलिसक्यो, अर्कोको आधा गइसक्यो ।’