जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाउनेहरु प्रशासनको निशानामा

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए ।


४ चैत, काठमाडौं । गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेल्ने प्रयास गरिएको छ । यो हिंस्रक व्यवहार गर्नेहरु बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दा प्रहरीको निशानामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए ।

‘गाईलाई कुटीकुटी कर्णाली नदी पारी लेखेट्न प्रयास गर्नेहरुलाई झिकाउन प्रहरीलाई भनिसकिएको छ र त्यसअनुसार प्रहरी परिचालन भइसकेको छ,’ पाध्याले भने, ‘उनीहरुले काजकिरियाको काम सकिएपछि आउँछौं भनेका छन् ।’ स्थानीयका कुरा सुनेपछि आवश्यक निर्णय लिने उनले बताए ।

गाईलाई कुट्दै नदीमा हेल्ने प्रयास गरिए पनि उक्त गाई गाउँमै फर्किएको छ । ‘गाई गाउँमै फर्किएको छ र अहिले सुरक्षित छ,’ उनले भने, ‘गाई राष्ट्रिय जनावर समेत भएकाले त्यस किसिमको हिंस्रक व्यवहार गर्न पाइँदैन’ प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *