लाल मोहम्मद हत्याका सुटरलाई थुनामा पठाउने आदेश

फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गर्दा गोली चलाउनु परेको थियो ।



१० चैत, काठमाडौं । दुई वर्षअघि गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

उनलाई आइतबार पुर्पक्षका लागि जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

मोहम्मद हत्याका एक सुटर पटेललाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले १८ फागुनमा गोली हानी पक्राउ गरेको थियो । सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट गोठाटारमा मारिएका थिए ।

फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गर्दा गोली चलाउनु परेको थियो । उनको ट्रमा सेन्टरमा उपचारपछि प्रहरीले उनलाई अदालत हाजिर गराएको थियो ।

आफू मारिनु एक हप्ता अगाडि मात्र मोहम्मदले सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।

पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद मारिनुअघि गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *