ललितपुरको इमाडोलमा खुकुरी प्रहार, युवकको हत्या

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रिपेश एक युवतीलाई जिस्काएको जानकारी पाएपछि सुमनले राति नै रिपेशलाई भेट्न बोलाएका थिए। भेट्न पुगेपछि एक्कासी उनीमाथि खुकुरी प्रहार गरेका हुन्।


१४ चैत, काठमाडौं । ललितपुरको इमाडोलमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। रामेछाप स्थायी घर भई ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको गएराति खुकुरी प्रहार गरी हत्या गरिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार हत्या आरोपमा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ। उनका अनुसार राति करिब साढे ११ बजे आपसी विवाद हुँदा रसाइलीले खातीलाई खुकुरी प्रहार गरेका हुन्। प्रहरीका अनुसार मृतकको घाँटीको दुवै भाग र गालामा गहिरो चोट लागेको छ।

सुमन र रिपेश साथी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रिपेश एक युवतीलाई जिस्काएको जानकारी पाएपछि सुमनले राति नै रिपेशलाई भेट्न बोलाएका थिए। भेट्न पुगेपछि एक्कासी उनीमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *