राजावादी-गणतन्त्रवादीलाई जम्काभेट हुनै नदिने रणनीति
प्रशासनको गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति छ । त्यसैले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

१४ चैत, काठमाडौं । चैत १५ गते एकैदिन एकै समयमा दुई परस्पर विचारधाराका गणतन्त्रवादी–राजावादीले काठमाडौं उपत्यकामा प्रदर्शनको तयारीमा छन् । उत्यकाका विभिन्न ठाउँहरुबाट नारा जुलुससहित सभा गर्ने उनीहरुको तयारी छ ।
राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर शुक्रबारको प्रदर्शनको कमाण्डर भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
प्रशासनको गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति छ । त्यसैले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ नै तोकिएको छ ।
यी दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि सुरक्षा चुनौतीबारे छलफल गर्न १० चैतमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत डाकिएको थियो ।
गृह मन्त्रालयमा बसेको उक्त बैठकमा गृहमन्त्री रमेश लेखकका साथै गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा र गृह मन्त्रालयका सहसचिव (सदस्य सचिव) सहभागी थिए ।
उक्त बैठकले १५ चैतमा दुई पक्षको प्रदर्शनको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको थियो । सोही अनुसार सुरक्षा रणनीति बनाइसकेको अधिकारीहरुले बताएका छन् ।
सुरक्षा सतर्कता
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार २५ सय प्रहरी भोलिका लागि खटाइने छ । आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।
सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।
यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार भोलि १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।
प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ ।
जुलुसको रुट यस प्रकार छ