एसएसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन गरिने
राजसंस्था पुनर्स्थापनाका लागि राजावादीले तीनकुने र गणतन्त्रवादीले भृकुटीमण्डपमा सभा गर्ने तय भएको छ।

१५ चैत, काठमाडौं । काठमाडौंमा आज हुन लागेको गणतन्त्र र राजावादीको शक्ति प्रदर्शनलाई लक्षित गरेर व्यवस्था कडा पारिएको छ। जसका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित ड्युटीमा खटिनेबाहेक सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताए। उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व, तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी, प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन्।
राजसंस्था पुनर्स्थापनाका लागि राजावादीले तीनकुने र गणतन्त्रवादीले भृकुटीमण्डपमा सभा गर्ने तय भएको छ। समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन्।
राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने आन्दोलनको नेतृत्व राप्रपाकै नेता दुर्गा प्रसाईंले गर्दै छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो।