गणतन्त्रवादी र राजावादीले एसईईलाई लक्षित गरी संशोधन गरे प्रदर्शन समय
पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।
१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय सारेका छन् ।
११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि अर्थात १२ बजे सारिएको छ ।
एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।
‘एसईई परीक्षाका कारण स्कुल बसहरुलाई असहज नहोस् भन्ने हिसाबले साढे ११ बजे भेला भएर भक्तपुरबाट १२ बजेबाट हिँड्ने गरी व्यवस्थापन गरेका छौं’, उनले भने, ‘त्यसपछि भक्तपुर तिनकुने हुँदै चाबहिल, गोंगबु लगायतका क्षेत्रमा प्रदर्शन हुन्छ र कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।’
शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले समेत शक्ति प्रदर्शन गर्दैछ । उनीहरुका लागि भृकुटीमण्डपमा सभा गर्ने स्थान तोकिएको छ ।