गृहमा आकस्मिक बैठक, चाँडै स्थिति नियन्त्रणमा आउँछ : एसएसपी अधिकारी
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति चाँडै नियन्त्रणमा आउने बताएका छन्।

१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
‘राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ । कर्फ्यु पनि लाग्दैछ’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।
५∕१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति चाँडै नियन्त्रणमा आउने बताएका छन्। उनका अनुसार ठूलो संख्यामा थप सुरक्षा बल परिचालन गरिएको छ, जसमा अन्य युनिटहरूबाट पनि सहयोग पुगेको छ ।
विशेष गरी तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले तत्काल कर्फ्यु लगाएको हो। प्रदर्शनकारीहरूले केही घरमा आगजनी र तोडफोडसमेत गरेको जानकारी प्राप्त भएको छ ।