दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी
झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत कुरेर बसिरहेका छन् ।

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई नेपाल ल्याउन लागिएको हो ।
त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।
उनलाई आज आसामको गुवाहिटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौं ल्याउने स्रोतले बतायो । झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत कुरेर बसिरहेका छन् ।
प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘‘दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’