दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्याइयो, विमानमार्फत काठमाडौं ल्याइने
भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

२९ चैत, काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई झापा ल्याइएको छ। प्रहरीको विशेष टोलीलाई उनलाई काँकटभिट्टा नाकाहुँदै नेपाल ल्याएको हो।
भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।
उनलाई भद्रपुर विमानस्थलबाट बिहान ११ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं पठाउने तयारी गरेको छ। प्रहरीले उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ।
दुर्गा प्रसाईंलाई ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए ।
प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याउन लागिएको हो ।
राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्।