राजावादीहरूको नाराबाजीमा पक्राउ परेको अमेरिकी नागरिक जुलियन किर्पालले नेपाल छाडे
उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए।

२ वैशाख, काठमाडौं । राजनीतिक गतिविधिमा संलग्न भेटिएपछि निष्कासनमा परेका अमेरिकी नागरिकले नेपाल छाडेका छन्। मंगलबार एयर इन्डियाको ४ः२७ बजेको फ्लाइटबाट ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पालले नेपाल छाडेका हुन्।
अध्यागमनले उनलाई दिल्ली हुँदै अमेरिका पठाएको स्रोतले जानकारी दिएको छ। राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका किर्पाललाई सरकारले देश निकाला गर्ने निर्णय गरेको थियो। गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको थियो।
गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो। प्रहरीले अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो।
पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ।