सामान्य विवादमा बहिनीको हत्या, लास पानीट्यांकीमा हालेर बेपत्ता भएका दाजु पक्राउ

त्यो दिन दाजु बहिनीले नै लागुऔषध सेवन गरे। लागूऔषधको प्रयोगपछि दाजुबहिनीबीच सामान्य विवाद भयो।


ललितपुर महानगरपालिका-१२, मंगलबजारमा बस्दै आएकी भगवती बोहोराको ११ वर्षीया छोरी दुर्गा गत चैत ४ गते बेपत्ता भइन्। त्यो दिन दुर्गा १५ वर्षीय दाजुसँग ललितपुर महानगरपालिका-९ खपिन्छे स्थित बाबुराजा अवालेको घरमा गएकी थिइन्। उनीहरू फागुन २५ गतेसम्म अवालेको घरमा भाडामा बसेका थिए। त्यहाँ कपडाहरू बाँकी रहेको भन्दै दुवैजना गएका थिए।

त्यो दिन दाजु बहिनीले नै लागुऔषध सेवन गरे। लागूऔषधको प्रयोगपछि दाजुबहिनीबीच सामान्य विवाद भयो। विवादपछि दाजुले दुर्गालाई पिटे। पिटेपछि नाइलनको डोरीले पछाडिबाट घाँटीमा कसेर भुइँमा लडाए। त्यसपछि उनी त्यहाँबाट निस्किए।

भोलिपल्ट नशाले छाडेपछि दाजु घटनास्थलमा पुगे। भुइँतलाको भर्‍याङको छेउमा बहिनीको लास थियो। उनले लास पानी ट्यांकीमा हालिदिए। त्यसपछि सिमेन्टले बनाएको ढक्कन लगाइदिए। त्यसपछि उनी त्यहाँबाट हिँडे। आमा भगवतीले छोरी हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी दिइन्। तर, छोरीको अत्तोपत्तो थिएन।

गत चैत २९ गते ललितपुर महानगरपालिका-९ खपिन्छे स्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा रहेको पानी ट्यांकीमा दुर्गाको लाश फेला पर्‍यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चैत ४ गते दुर्गा र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो।

दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात दाजु माथि शंका लागी सोधपुछ गर्दा उसले  कोठा सर्दा छुटेका कपडाहरू लिन भनि दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटि उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाटी कसेर भुइँमा लडाई छोडी भागेको बताएको थिए।

उनकै दाजुले हत्या गरेको खुलेपछि मंगलबजार एरियाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *