काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
आज सबैभन्दा बढी तापक्रम भैरहवामा (४२ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम तापक्रम आज राती जुम्लामा (५ डिग्रीसम्म) पुग्ने देखिन्छ।

११ वैशाख, काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।
काठमाडौं उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
आज सबैभन्दा बढी तापक्रम भैरहवामा (४२ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम तापक्रम आज राती जुम्लामा (५ डिग्रीसम्म) पुग्ने देखिन्छ।
महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ ।
कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी,आज राति मधेस प्रदेशलगायत बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ ।
कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।