‘बिग बोस’ स्टार चुम, ‘ऐरी’बाट नेपाली फिल्ममा डेब्यु गर्दै

‘उहाँले अहिले स्क्रिप्टअनुसार डायलगलाई कण्ठ पार्दै हुनुहुन्छ’ स्रोतले भन्यो, ‘उहाँ फिल्मको लिड फिमेलकै रुपमा प्रदीप खड्काको अपोजिटमा देखिनुहुनेछ ।’


चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८ र संजयलीला भन्सालीको फिल्म ‘गंगुबाई कठियाबाडी’मा अभिनय गरेकी चुम दरङले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।

छायांकन तयारीमा रहेको एक्सन फिल्म ‘ऐरी’मा चुमले अभिनेता प्रदीप खड्काको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछिन् । दुई सातामा छायांकन तयारीमा रहेको यो फिल्मको कार्यशालाको लागि अभिनेत्री चुम यतिबेला काठमाडौंमा छिन् ।

कार्यशालामा उनले नेपाली भाषा सिकिरहेकी छिन् । ‘उहाँले अहिले स्क्रिप्टअनुसार डायलगलाई कण्ठ पार्दै हुनुहुन्छ’ स्रोतले भन्यो, ‘उहाँ फिल्मको लिड फिमेलकै रुपमा प्रदीप खड्काको अपोजिटमा देखिनुहुनेछ ।’

चुम केही दिनदेखि काठमाडौमा छिन् । यो फिल्मको मुख्य खलपात्रको भूमिकामा चाहिँ भुटानी अभिनेता सांगे सेल्ट्रिमले अभिनय गर्दैछन् । शाहरुख खानको बलिउड फिल्म ‘जवान’मा समेत अभिनय गरेका सांगेले ‘ऐरी’को लागि केही समयदेखि काठमाडौं आउजाउ गरिरहेका छन् ।

२०८१ सालको बैशाखमै निर्देशक जीवन थापासँग अभिनेता सांगेले फिल्मको लागि लिखित सहमति गरिसकेका छन् । ‘ऐरी’को छायांकन काठमाडौंसहित बागलुङको ढोरपाटन र भारतमा हुनेछ । छायांकन ३ महिना चल्ने, ८ महिना भीएफएक्स गर्दैमा बित्ने भएकाले फिल्मको निर्माण हुन १ वर्ष लाग्ने बताइन्छ ।

यो फिल्मलाई निर्देशक थापाको उपकरण कम्पनी मल्टिमेटले भारतीय वितरकसँगको सहकार्यमा निर्माण गर्दैछ । नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्मलाई केही क्षेत्रीय भाषामा पनि स्वरांकन गर्ने बताइएको छ ।

यो फिल्मको कलाकारमा प्रदीप, चुम र सांगेबाहेक सुनिल थापा पनि हुनेछन् । अरु थप चर्चित नेपाली अभिनेता पनि फिल्मसँग जोडिएको बताइएको छ । निर्माताले चाँडै औपचारिक जानकारी दिने तयारी गरेका छन् ।

अभिनेत्री चुमको कुरा गर्दा, उनी पछिल्लोपटक सलमान खानले होस्ट गरेको टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८ मा सहभागि भएकी थिइन् । सन् २०२० मा उनले अमेजन प्राइमको क्राइम थ्रीलर सिरिज ‘पाताल लोक’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

सन् २०२२ को फिल्म ‘बधाई दो’मा उनी भूमी पेड्नेकरसँग देखिएकी थिइन् । संजयलीला भन्सालीले निर्देशन गरेको सन् २०२२ को ‘गंगुबाई कठियाबाडी’मा उनी आलिया भट्टसँगै प्रस्तुत थिइन् । सन् २०२५ मा उनको बलिउड फिल्म ‘खौफ’ प्रदर्शन तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *