महानगर प्रहरीले किसान रोके, किसानले फोहोर बोक्ने गाडी

महानगर प्रहरी माछापोखरी सडकमा लस्करै उभिएका थिए । सडकको वारिपारिसम्म उभिएर उनीहरूले साना किसान र तरकारी व्यापारीलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित भएको थियो ।


१९ वैशाख, काठमाडौं । शुक्रबार बिहानै ५० जनाभन्दा बढी काठमाडौं महानगर प्रहरी बालाजु बाइपासमा खटिए ।

बालाजुस्थित माछापोखरीमा साना किसान र तरकारी व्यापारीलाई व्यवस्थित बनाउने नाममा महानगर प्रहरीले सार्वजनिक यातायात समेत बन्द गरी नुवाकोटको ककनी, काठमाडौंको तारकेश्वर, तीनपिप्लेबाट आएका किसानलाई लखेटे ।

महानगर प्रहरी माछापोखरी सडकमा लस्करै उभिएका थिए । सडकको वारिपारिसम्म उभिएर उनीहरूले साना किसान र तरकारी व्यापारीलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित भएको थियो ।

बिहान ४ बजेदेखि ७ बजेसम्म माछापोखरी, बालाजु बाइपास क्षेत्रमा तरकारी, फलफूल बेच्ने किसानलाई लखेटेपछि काठमाडौं महानगरपालिका सहित उपत्यकाको फोहोर बोकेर गएका टिपरलाई पासाङ ल्हामु मार्गको तीनपिप्लेमा स्थानीयले रोके ।

स्थानीय वीरेन्द्र बलामी भन्छन्, ‘हाम्रा दाजुभाइ, दिदीबहिनीलाई बालेन सेना (नगर प्रहरी)ले लखेटे भनेपछि ककनी गाउँपालिका- १ र तीनपिप्लेका स्थानीय मिलेर टिपर रोकेका हौं । हाम्रो रोजीरोटीमाथि नै बालेनले हस्तक्षेप गरेपछि तिनीहरूको फोहोर हाम्रो एरियामा किन फाल्न दिने ?’

उनका अनुसार काठमाडौं महानगरको १५/१६ नम्बर वडाले किसान परिचयपत्र हुनेलाई मात्रै बिहान ७ बजेसम्म तरकारी बेच्न पाउने गरी कुरा भएको थियो । ‘किसानसँग किनेर व्यापारीहरूले बेच्न नपाउने तर किसान परिचयपत्र बनाएर सिधै किसानले बेच्न पाउने सहमति भएको थियो तर नगर प्रहरीले एक्कासी सडक मर्मत गर्ने भन्दै किसान लखेटेपछि अहिलेको अवस्था आएको हो,’ उनले भने ।

महानगरकै अधिकारीका अनुसार वडा कार्यालयको असहमतिमै मेयर बालेन स्वयंले आदेश दिएका हुन् । ‘वडा कार्यालयले अहिले नगरौं, फोहोरको गाडी रोकिन्छ भन्दा मेयर साबले ‘त्यसको जिम्मा म लिन्छु । अहिलेलाई बाटो बनाउन फुटपाथ जसरी पनि खाली गर्नूस’ भनेर नगर प्रहरीलाई आदेश दिनुभयो । सोहीअनुसार आज टोली खटिएको हो,’ ती कर्मचारीले भने ।

गाडी रोकेपछि सहमति    

किसानलाई हटाएपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहार बोकेर गएका काठमाडौं महानगरपालिकाका २ सय गाडी स्थानीयले रोके ।  बालाजुमा बलामी गाउँका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको भन्दै बञ्चरेडाँडा हिँडेका गाडी रोकिदिएपछि महानगर सहमति गर्न गयो ।

महानगर प्रहरीसहित १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठ, वातावरण विभाग प्रमुख सरिता राईको टोलीले बलामी गाउँका प्रतिनिधिसँग छलफल गरी सहमति गरे ।

बालाजु प्रहरी चौकीमा भएको सहमतिअनुसार अब बलामी गाउँका परिचपयपत्रधारी किसानले मात्रै बिहान ७ बजेसम्म बालाजु बाइपास सडकको एकातर्फको फुटपाथमा तरकारी बेच्न पाउने भएका छन् ।

‘हामीले उहाँहरूलाई माछापोखरी तरकारी बजारभित्र नै स्थान उपलब्ध गराउँछौं भन्दा पनि मान्नु भएन । अहिले सडकमै बेचिरहनुभएको थियो । अब बिहान ७ बजेसम्म सडक पेटीको एकतर्फ मात्रै बेच्न दिने र केही समयपछि तरकारी बजारभित्र व्यवस्थित स्थान दिने सहमति भएको हो,’ वडाध्यक्ष श्रेष्ठले भनिन् ।

‘हामीले यसअघि पनि उहाँहरूलाई ७ बजेसम्म सडक पेटीमा बेच्न दिएका थियौं । तर सडकमैं बेच्न थालेपछि नगर प्रहरी खटिएको हो । त्यही भएर आजको विवाद देखिएको हो । अब विवाद समाधान भइसकेको छ,’ श्रेष्ठले भनिन् ।

वातावरण विभाग प्रमुख राईका अनुसार रोकिएका सबै गाडी बञ्चरेडाँडा ल्यान्डफिल साइट गइसकेका छन् । ‘उहाँहरू सहमतिमा आइसकेपछि फोहोरको गाडी गएका छन् । अब अवरोध हुँदैन,’ राईले भनिन् । ककनी गाउँपालिकाका- १ बलामी गाउँ ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *