वर्षाले सूर्यविनायक-साँगा सडक एकतर्फी सञ्चालन
चिप्लो सडकमा एकतर्फी रुपमा सवारी साधन चलिरहेका जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

२१ वैशाख, भक्तपुर । शनिबार रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा यातायात सेवा प्रभावित भएको छ ।
चिप्लो सडकमा एकतर्फी रुपमा सवारी साधन चलिरहेका जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।
गाडी चिप्लिएर जोखिम बढेपछि आज काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन मात्र दिइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।
यसैगरी भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधनलाई जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।
भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक गाडीलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ ।
भक्तपुर र काभ्रे जिल्ला जोड्ने सूर्यविनायक–जगाति सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको छ । निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका छन् । हल्का पानी परेका बेलामा पनि हिलाम्मे भएर सडकमा गाडी चिप्लिने गरेका छन् ।
बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन उकालो उक्लिन नसक्ने र सडकमै भासिने गरेका छन् । साना सवारी साधन भने चिप्लेर सडकबाट तल खस्ने गरेका छन् ।