भारतीय एम्बुलेन्सबाट गाजा तस्करी, एकजना पक्राउ
धनकुटामा उत्पादन हुने गाजा तस्करहरूले एम्बुलेन्स, निजी गाडी र मालबाहक ट्रकमा सुनसरीको बाटो हुँदै भारततर्फ तस्करी गर्दै आएका छन्।

सुनसरीमा प्रतिबन्धित लागू औषध गाजा तस्करीमा वृद्धि भएको छ। लागू औषध र गाजा नियन्त्रणमा सक्रियता देखाएको सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाजा तस्करी गर्ने एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
शनिबार राति नम्बर नखुलेको एम्बुलेन्समा लागू औषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयहरू इटहरी, पकली र रामधुनीबाट संयुक्त रूपमा प्रहरी परिचालन गरि राजमार्ग निस्कने सम्पूर्ण सडक ब्लक गरी एम्बुलेन्समा गाजा तस्करी गर्ने अभियुक्तलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।
प्रहरीले एम्बुलेन्सलाई घेरा हाली रामधुनी नगरपालिका-६ पिडारीमा BR38P5414 नम्बरको भारतीय एम्बुलेन्सलाई रोकी कानुन बमोजिम चेकजाचँ गर्दा ६ वटा कालो बोरामा लुकाइ ल्याइएको १८० केजी गाजा बरामद गरिएको उनले बताए।
गाजा तस्करी गर्ने एम्बुलेन्स चालक सुनसरी वराहक्षेत्र नगरपालिका-४ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय श्रीराजकुमार साहलाई पक्राउ गरिएको एसपी जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताएका छन्। उनले एम्बुलेन्ससहित पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको बताए।
धनकुटामा उत्पादन हुने गाजा तस्करहरूले एम्बुलेन्स, निजी गाडी र मालबाहक ट्रकमा सुनसरीको बाटो हुँदै भारततर्फ तस्करी गर्दै आएका छन्। प्रहरीले गाजा तस्करी गर्ने भरियालाई पक्राउ गरिरहेको भए पनि गाजा तस्करी गर्ने मुख्य योजनाकारलाई भने पक्राउ गर्न सकेको छैन।
गाजा तस्करी गर्ने पक्राउ परेका भरियाहरूको बयानका आधारमा मुख्य योजनाकारको पहिचान गरि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा चलाइने एसपी तिम्सिनाले बताएका छन्। धनकुटामा उत्पादन हुने गाजा धनकुटाबाट खुलेआम सुनसरी आउँदासमेत धनकुटा प्रहरी भने बेखबर बन्ने गरेको छ।