काठमाडौं प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा

परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका अभियुक्तसम्म छन् ।


२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् ।

परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका अभियुक्तसम्म छन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा हिरासतमा पुगे पनि उनीहरुको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको हो ।

‘काठमाडौं प्रहरी मातहतका युनिटमा रहेकाहरु पनि कतिपयको कक्षा १२ को परीक्षा रहेछ, त्यही अनुसार परीक्षा बोर्डसँग समन्वय गरेर यहीँ परीक्षा दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘परीक्षा दिनेमा सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, चोरी लगायतका मुद्दाका आरोपी छन् ।’

चोरी आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका दावा शेर्पाले भने काठमाडौं प्रहरी परिसरबाट परीक्षा दिइरहेका छन् । उनीहरुको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेञ्चको व्यवस्था गरेको थियो ।

काठमाडौं प्रहरी मातहत रहेका अभियुक्तहरुमध्ये थप दुई जनाले पनि परीक्षा फारम भरेका थिए । तर, उनीहरुले परीक्षा दिन रुचि देखाएनन् ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा प्रहरी वृत्त गौशालामा रहेका अभयराज सिंहको पनि कक्षा १२ को परीक्षा थियो । तर, २० वैशाखमा पक्राउ परेका उनले परीक्षा दिएनन् ।

उनी नामी कलेजमा पढिरहेका थिए । ज्यान मार्ने उद्योगका आरोपित राजकुमार खडायतले पनि परीक्षा दिएनन् । उनी दुर्गालक्ष्मी मावि अत्तरियामा अध्ययरत् थिए ।

अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरुलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था छ । काठमाडौंको केन्द्रीय कारागारमा त कैदीबन्दीहरुका लागि छुट्टै स्कुल पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *