भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

२५ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् ।
आज बिहान देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर गंगोत्रीभन्दा पर भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।
हेलिकप्टरमा सात जना सवार थिए । तीमध्ये पाँच जनाको मृत्यु र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । मृतकको परिचय पनि खुलेको छैन ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
दुर्घटना भएको हेलिकप्टर निजी कम्पनीको हो । खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । उत्तराखण्डमा केही दिनदेखि नै मौसम खराब छ । भारतको मौसम विज्ञान विभागले सो क्षेत्रमा पानी पर्ने र हावाहुरी चल्ने चेतावनी जारी गरेको थियो ।