लिलाबल्लभसँगै मानव तस्करीको आरोप लागेका तीन जना थुनामा
जापानको अध्यागमनले अधिकारीसहित चारै जनालाई होल्डमा राखेर डिपोर्ट गरिदिएको थियो ।
१४ मंसिर, काठमाडौं । मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका तीन जनालाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ ।
न्यायाधीश बलराम लम्सालको इजलासले आरोप लागेका तीन जनालाई धरौटी मागेको छ भने अरु दुई जना साधारण तारेखमा छुटेका छन् ।
जिल्ला अदालतले महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो । ५० ५० हजार रुपैयाँ धरौटीमा जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा रिहा भएका छन्न भने वीन राई र बुद्धि राई साधारण तारेखमा रिहा भएका छन् ।
मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको उनीहरूमाथि आरोप लागेको थियो । जापानको अध्यागमनले कानूनमन्त्री लिलाबल्लभ अधिकारीसहित चारै जनालाई होल्डमा राखेर डिपोर्ट गरिदिएको थियो ।
अध्यागमन विभागले डिपोर्ट भएपछि थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । चौतर्फी आलोचना भएको मुद्दा नचल्ने निर्णयविरुद्ध शुक्रबारमात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।