रामेछाप दुर्घटनामा आमाछोरीले नै गुमाए ज्यान १ को अझै खुलेन पहिचान
मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन्
१४ मंसिर, काठमाडौं । काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चार जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् ।
रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको निधन भएको जानकारी दिए । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का एकजना मृतकको भने पहिचान खुलिसकेको छैन ।
गाडीमा ८ जना सवार थिए त्यसमध्ये अन्य तीनजना घाइते भएको र उनीहरूको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् ।
अर्का एकजना घाइतेको पनि पहिचान खुलेको छैन । अन्दाजी ३–४ वर्षका बालक घाइते भएको र उनको शरिरको विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।