परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कंदै, सोमबार फेरि बेइजिङ जाने
सोमबार प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै
१५ मंसिर, काठमाडौं । आज बिहान चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फर्कन लागेकी हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी राणा शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
उक्त अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।
आगामी सोमबार प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा पनि सहभागी हुनेछिन् ।