पनौतीमा प्रमुख-उपप्रमुख मिल्यो हिसाब, आयो १६१ करोड बजेट

यसअघि ९ असारको नगरसभा बैठक नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका थिए ।

११ असार, काभ्रेपलाञ्चोक । प्रमुख-उपप्रमुखबीचको विवाद मिलेसँगै काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख गीता बञ्जाराले बुधबार आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालुतर्फ ८१ करोड १५ लाख ३० हजार र पूँजीगततर्फ ७९ करोड ९५ लाख ८१ हजार रुपैयाँ छ ।

प्रस्तुत बजेटमा ४४ करोड २५ हजार आन्तरिक आयबाट र २० करोड ४१ लाख ९० हजार रुपैयाँ राजस्व बाँडफाँटबाट मिलाइने उल्लेख छ ।

यसअघि ९ असारको नगरसभा बैठक नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका थिए । जसका कारण नगरप्रमुख रामशरण भण्डारीले बुधबारका लागि बैठक आह्वान गर्दै नगरसभा स्थगित गरेका थिए ।

कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएको भन्दै उपप्रमुख बञ्जारासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा बहिष्कार गरेका थिए ।

नगरपालिकामा बचेको ३६ करोड स्रोतमध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भए पनि सहमतिअनुसार बजेट नआउने देखेपछि नगरसभा बहिष्कार गरिएको उपप्रमुख बञ्जाराले बताएकी थिइन् ।

बञ्जाराका अनुसार प्रमुख र उपप्रमुखले ९ करोड ५० लाखका दरले बाँड्ने सहमति भएको थियो । तर पछि नगरका गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन् ।

विपद्, बसपार्क,  पनौती बजार खानेपानी, मुख्य बजारमा बत्ती जडानमा राखिएको रकम लगायतका नगरका गौरवका केही योजनामा ५ करोड विनियोजन भएकोमा असन्तुष्ट बनेकी उपप्रमुखसहित एमाले समर्थित जनप्रतिनिधि नगरसभामा उपस्थित नभएर सभा स्थगित भएको थियो ।

विवादपछि मंगलबार प्रमुख र उपप्रमुखबीचमा प्रमुख र उपप्रमुखले बाँड्ने ९ करोड ५० लाखलाई बढाएर १० करोड ५० लाख  रुपैयाँ पुर्‍याइएपछि विवाद समाधान भएको थियो । प्रमुख-उपप्रमुखबीच सहमति भएसँगै बुधबार बजेट सार्वजनिक भएको हो ।

बुधबारको नगरसभा बैठकमा नगरप्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेका छन् ।

नगर प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, कला र संस्कृति हाम्रो चिनारी: हरित पर्यटकीय गौरवमय समृद्ध पनौती भन्ने मूल नारालाई प्रमुखता दिइएको छ ।

यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवालाई सरल, सहज, प्रभावकारी र गुणस्तरीय बनाउन कार्यविवरणलाई थप स्पष्ट पारिने नीति तथा कार्यक्रममा समावेश छ ।

स्थानीय स्रोत साधनको प्रयोग हुने उत्पादनमूलक र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने योजनाहरूको छनोटमा जोड दिइने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *