टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’मा
यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ।
२६ असार, काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।
यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
सन् २०२४ को उप–क्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र सामोआ नेपाल, पपुवा न्युगिनी र आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछन्।
यीमध्ये ओमान, नेपाल, पपुवा न्युगिनी र युएई पहिले नै पुरुष टी–२० विश्वकपमा खेलिसकेका टोली हुन्।