टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’मा

यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ।

२६ असार, काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।

यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

१० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि १७ अक्टोबरसम्म खेलिनेछ। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन्।

सन् २०२४ को उप–क्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र सामोआ  नेपाल, पपुवा न्युगिनी र आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछन्।

यीमध्ये ओमान, नेपाल, पपुवा न्युगिनी र युएई पहिले नै पुरुष टी–२० विश्वकपमा खेलिसकेका टोली हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *