मनोहराको बाढीबाट सुकुम्बासी बस्ती जोगाउन जुट्यो वाईसीएल
यो काममा बागमती प्रदेशका माओवादी केन्द्रका नेताहरु, वाईसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) लगायत सहभागी छन् ।
काठमाडौं– नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध लगाउने सुरु गरेको छ ।
वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा आज बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भइरहेको छ ।
‘स्थानीयले यसअघि ग्याबिन तारजाली लगाउनु भएको रहेछ, त्यसलाई बाढीले बगाएर खोलातिरै लगेको रहेछ । अनि अर्कोतिर अस्थायी तटबन्ध नभएको ठाउँबाट बाढी बस्तीमा पस्दो रहेछ । तिनै ठाउँमा आज अस्थायी तटबन्ध गर्न जुटेका छौं,’ वाईसीएल केन्द्रीय अध्यक्ष पुष्प ओलीले भने ।
उनका अनुसार बाँसका भाटाले बार लगाउने र त्योभन्दा पछाडि बालुवा–गिट्टी बोरामा भरेर बाँध बनाउने काम भइरहेको छ ।