भारतका उपराष्ट्रपति धनखडले किन दिए राजीनामा ?

७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो। उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्। 

६ साउन, काठमाडौं । कार्यकाल सकिन २ वर्ष बाँकी रहँदै भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामापत्रमा स्वास्थ्यको कारण उल्लेख गरेका छन् । तर उनको राजीनामा सम्बन्धमा विभिन्न खालका अड्कलबाजीहरू भइरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार ७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो। उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्।

उनको राजनीतिक यात्राका पुराना विवादहरू पनि पुनः चर्चामा आएका छन् । जनता दलदेखि कांग्रेस हुँदै भारतीय जनता पार्टी (भाजपा)सम्मको यात्रा तय गरेका उनी आफ्ना अभिव्यक्ति र निर्णयका कारण बारम्बार विवादमा तानिएका थिए ।

‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’ राजीनामा पत्रमा उनले लेखेका छन्, ‘संसद्‌का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ। यस महत्वपूर्ण अवधिमा भारतको उल्लेखनीय आर्थिक प्रगति र अभूतपूर्व घातीय विकासको साक्षी हुनु र यसमा भाग लिनु मेरो लागि सौभाग्य र सन्तुष्टि हो। हाम्रो राष्ट्रको इतिहासको यस परिवर्तनकारी युगमा सेवा गर्नु साँचो सम्मान हो। यो सम्मानित पद छोड्दै गर्दा, म भारतको विश्वव्यापी उदय र असाधारण उपलब्धिहरूमा गर्वले भरिएको छु र यसको उज्ज्वल भविष्यमा अटल विश्वास राख्छु।’

उनले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सहयोग र सौहार्दपूर्ण सम्बन्धको लागि धन्यवाद भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *