सुर्खेतमा सुतिरहेकी श्रीमतीलाई श्रीमानले गरे हत्या
‘श्रीमतीलाई किन मारेको भनेर सोध्दा उसले मलाई केही थाहा पाइनँ, सैतान भनेर हानेको हुँ भन्छ,’
११ साउन, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।
वडाध्यक्ष कोइरालाले भने, ‘मलाई आइतबार बिहानपख करिब दुई/सवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेको थियो । मसँग श्रीमती मारेको कुरा गरेन । तर दुबईमा भएको छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई भने फोन गरेर श्रीमती मारेँ भनेको रहेछ ।’
उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन । ‘श्रीमतीलाई किन मारेको भनेर सोध्दा उसले मलाई केही थाहा पाइनँ, सैतान भनेर हानेको हुँ भन्छ,’ वडाध्यक्ष कोइरालाले भने, ‘हत्यापछि उसले छोराछोरी आफन्त र प्रहरीलाई फोन गरेर मैले मारेँ भनेको रहेछ ।’