चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
११ साउन, काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।
डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सोमबारसम्म सकिने बताए । उनले भने, ‘म पनि हर्दीमा गएर निरीक्षण गरेर आएँ, विद्युतको समस्या भरतपुर र माडीमा मात्रै हैन ‘पूर्वी चितवनका अन्य क्षेत्र टाँडी पर्सा भण्डारासम्म पनि छ । हर्दी स्टेशन चलेपछि यसको समस्याको धेरै समाधान हुन्छ ।‘
हर्दी स्टेशनबाट विद्युत दिएर भरतपुर पर्साको लोड घटाउने र हर्दीबाट भरतपु महानगरपालिका वडा नं. १३ को देवनगर सवस्टेशनमा विद्युत पठाउने तयारी तीव्र गतिमा भएको डिभिजन प्रमुख झाले बताए ।
उनले देवनगर स्टेशन ३३ केभिएबाट सिधै जगतपुरमा लाइन सप्लाई गरेर अहिले भैरहेको चनौलीको लोडलाई कम गराउने उनको भनाइ छ । त्यसका लागि मंगलबार वा बढीमा बुधबारसम्म काम सकिने उनले जानकारी दिए ।
यस्तो छ लोडसेडिङ तालिका
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।